२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरूबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन। अन्तिम समयसम्म तालमेलको प्रयास जारी रहे पनि निर्णयमा पुग्न नसक्दा राजनीतिक समीकरण अन्योलमा परेको छ।
नेताहरूका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रारम्भिक सहमतिबाट पछि हटेपछि सिट बाँडफाँट टुंगो लाग्न नसकेको हो। यसैकारण हाल कांग्रेस र एमालेबीच मात्र तालमेलको विकल्पमा छलफल केन्द्रित भएको बताइन्छ। प्रचण्ड सहमतिमा नआए कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा पनि संवाद भइरहेको कांग्रेसका एक नेताले जानकारी दिए।
आगामी माघ ११ गते हुने निर्वाचनबाट राष्ट्रियसभामा २० फागुनदेखि रिक्त हुने १९ मध्ये १८ सिटका लागि निर्वाचन हुँदैछ भने एक सिट राष्ट्रपतिबाट मनोनीत हुनेछ। आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम तय गरिएको छ।
यसअघि कांग्रेस र एमालेले ७–७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जसपा नेपालले १ सिट लिने गरी तालमेल गर्ने विकल्पमा छलफल भएको थियो। तर पछिल्लो समय प्रचण्ड तालमेलप्रति अनिच्छुक देखिएका छन्। मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले कसैसँग पनि तालमेल नगर्ने बताएका थिए, जुन अभिव्यक्ति सिट बाँडफाँटमा सहमति नजुटेपछि आएको नेताहरूको भनाइ छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सुरुमा तीन सिटमा सहमत देखिएका प्रचण्डले पछिल्लो समय कम्तीमा चार सिट मागेपछि कुरा अड्किएको हो। “पहिले ठीक छ भन्नु भएको थियो, पछि बढी सिट चाहियो भन्नु भयो, त्यही कारण सहमति हुन सकेन,” उनले बताए।
प्रचण्ड सहमतिमा नआए कांग्रेस–एमालेबीच मात्र सिट बाँडफाँट गरेर अघि बढ्ने तयारी रहेको नेताहरूको भनाइ छ।





