काठमाडौं, २३ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आगामी पुस २७–२८ मा काठमाडौंमा हुने विशेष महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेका छन्।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले पत्रकार सम्मेलन गर्दै १८ वटा उपसमितिका संयोजकहरू सहित गठन गरिएको जानकारी दिएका छन्। उपसमितिहरूमा व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका जिम्मेवारी समावेश छन्।
विशेष महाधिवेशन पक्षधरका अनुसार बाध्यकारी परिस्थितिमा यो महाधिवेशन आह्वान गरिएको हो। विज्ञप्तिमा संविधानको मर्म र भावनालाई सम्मान गर्दै सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।
महाधिवेशनका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनमा पत्राचार भइसकेको छ र स्थलका रूपमा भृकुटीमण्डप पहिले नै बुक गरिएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मानिकट पक्षले नियमित महाधिवेशन कार्यतालिका प्रभावित भएकाले विशेष महाधिवेशन अपरिहार्य भएको बताएको छ। तर सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नरहेको जनाएको छ।






