२५ पुस, काठमाडौं । सुदूरपश्चिम क्षेत्रका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित विशेष महाधिवेशनलाई ‘विधान विपरीत’ ठहर गर्दै त्यसमा सहभागी नहुन अपिल गरेका छन्।
संयुक्त विज्ञप्तिमा बझाङका जिल्ला सभापति खडक बहादुर बोहरा, डोटीका नरेन्द्र बहादुर सिंह, डडेलधुराका भिम साउँद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टको हस्ताक्षर रहेको छ।
विज्ञप्तिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गते आयोजना हुने भनिएको विशेष महाधिवेशन विधानअनुसार नभएको दाबी गरिएको छ। पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको र व्यक्तिगत पदाधिकारी वा सदस्यले यस्तो अधिकार प्रयोग गर्न नपाउने उनीहरूको भनाइ छ।
उनीहरूले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन नै गर्नुपर्नेमा जोड दिँदै पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यलाई यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।
यसैबीच, उनीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन्।
उता, विशेष महाधिवेशन पक्षधरहरूले भने महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन आयोजना गर्न लागिएको र यो विधानसम्मत रहेको दाबी गर्दै आएका छन्।






