२५ पुस, काठमाडौं । इरानमा पछिल्ला दुई सातादेखि जारी महँगीविरुद्धको प्रदर्शन बिहीबार रातिदेखि झनै उग्र बनेको छ। सीएनएको रिपोर्टअनुसार प्रदर्शन देशका १०० भन्दा बढी सहरमा फैलिएको छ भने स्थिति नियन्त्रणबाहिर जाँदा सरकारले देशभर इन्टरनेट र फोन सेवा बन्द गरेको छ।
प्रदर्शनकारीहरूले ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ जस्ता नारा लगाउँदै सडकमै उत्रिएका छन्। सरकारी समाचार एजेन्सी ‘फार्स’ का अनुसार तेहरानमा अवस्था नियन्त्रणमा लिने क्रममा एक प्रहरी अधिकारीको चक्कु प्रहारबाट मृत्यु भएको छ।
अशान्ति बढ्दै जाँदा देशको दोस्रो ठूलो सहर मशहदमा प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा च्यातेका छन्। अमेरिकी मानव अधिकार संस्थाहरूका अनुसार हिंसात्मक घटनामा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ भने २,२७० भन्दा बढीलाई हिरासतमा लिइएको छ।
यो आन्दोलन निर्वासित युवराज रजा पहलवीको अपीलपछि थप तीव्र भएको बताइएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिमा सत्ताच्युत भएका अन्तिम शाह मोहम्मद रजा पहलवीका छोरा रजा पहलवी हाल अमेरिकामा बस्दै आएका छन्। प्रदर्शनकारीहरूले उनलाई धर्मनिरपेक्ष र लोकतान्त्रिक विकल्पका रूपमा हेर्न थालेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई कडा चेतावनी दिएका छन्। प्रदर्शनकारीहरूलाई मारिए अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की उनले दोहोर्याएका छन्।
इरानमा जनआक्रोशको मुख्य कारण गहिरिँदो आर्थिक संकट हो। सन् २०२५ को डिसेम्बरमा इरानी मुद्रा रियाल खस्केर प्रति अमेरिकी डलर करिब १.४५ मिलियन पुगेको छ, जुन हालसम्मकै न्यून स्तर हो। वर्षको सुरुदेखि रियालको मूल्य करिब आधा घटेको छ। खाद्य वस्तुको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतसम्म बढेको छ। सन् २०२६ को बजेटमा ६२ प्रतिशत कर वृद्धि प्रस्ताव भएपछि असन्तुष्टि झनै चर्किएको हो।
तेल निर्यातमा निर्भर इरानी अर्थतन्त्र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कमजोर बनेको छ। सन् २०२५ मा व्यापार घाटा १५ अर्ब डलर पुगेको छ भने जीडीपी वृद्धि केवल ०.३ प्रतिशत रहने अनुमान गरिएको छ।
४७ वर्षदेखि जारी कडा धार्मिक शासन, चर्को महँगी, बेरोजगारी र आर्थिक अस्थिरताबाट दिक्क बनेका इरानी नागरिक अहिले परिवर्तनको माग गर्दै सडकमा उत्रिएका छन्। यही कारण क्राउन प्रिन्स रजा पहलवीलाई सत्तामा फर्काउनुपर्ने माग प्रदर्शनमा प्रमुख रूपमा उठिरहेको छ।




