आर्थिक

सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन प्रतितोला २ लाख ७८ हजार

३० पुस, काठमाडौं । विगत केही दिनदेखि निरन्तर नयाँ मूल्य रेकर्ड बनाउँदै आएको सुन र चाँदीको मूल्य बुधबार पनि उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको २ लाख ७६ हजार ५ सय रुपैयाँभन्दा १ हजार ५ सय रुपैयाँ बढी हो।

त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ हजार ६५५ रुपैयाँमा पुगेको छ, अघिल्लो दिनको ५ हजार ३४० रुपैयाँभन्दा ३१५ रुपैयाँले बढी।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४,६०० अमेरिकी डलर नाघेको छ भने चाँदी प्रतिऔंस ९० डलर पुगेको छ। (एक औंस बराबर २.४३ तोला हुन्छ।)

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, अमेरिकी राष्ट्रपतिद्वारा विश्वव्यापी तनाव र द्वन्द्व बढ्ने डरका कारण अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको माग बढेको छ, जसले मूल्य उच्च राख्न भूमिका खेलेको छ।

बज्राचार्यका अनुसार, अमेरिका, इरान, ग्रिनल्याण्ड लगायतका मुलुकसँग सम्बन्धित धम्की र विभिन्न मुलुकमा तेल खरिदमा उच्च ट्यारिफको घोषणा जस्ता कारणले लगानीकर्ताहरू सुन र चाँदीतर्फ आकर्षित भएका छन्। यसले नेपाली बजारमा पनि भाउमा वृद्धि ल्याएको छ।