राजनीति

देउवाको सन्देश अस्वीकार गर्दै गगन भन्छन्: जोखिम उठाएरै पार्टी बदल्छु

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो धारणा बुझाउन नसकेको बताएका छन्। देउवा पक्षबाट कारबाहीको निर्णयपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले सभापति देउवाले अझै पनि नियमित महाधिवेशन पर्खन सुझाव दिएको उल्लेख गरे।

थापाका अनुसार देउवाले आज बिहानसमेत ‘वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यही बेला सभापति बन्नू’ भन्ने कुरा दोहोर्‍याएका थिए। तर आफू अहिले नै महामन्त्रीको जिम्मेवारीमा रहेको र पार्टीभित्रै बसेर सुधारको जोखिम उठाउन चाहेको उनको भनाइ थियो।

“म अहिले महामन्त्री हुँ, विश्वप्रकाश शर्मा पनि महामन्त्री हुनुहुन्छ। हामी यही पार्टीको संसदीय समिति भित्र छौं,” थापाले भने, “हामीले चुनाव लड्नेभन्दा पनि साथीहरूले हाम्रो क्षेत्रमा चुनाव लड्न आग्रह गरिरहेका छन्। माया गरिरहेका छन्। हाम्रो बारेमा चिन्ता होइन, पार्टीको भविष्यको चिन्ता हो।”

उनले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई पार्टीलाई सही दिशामा लैजान जोखिम उठाउन तयार रहेको बताए।

यसैबीच, देउवा पक्षबाट गरिएको कारबाहीप्रति प्रतिक्रिया जनाउँदै थापाले नेपाली कांग्रेस कसैको निजी कम्पनी नभएको स्पष्ट पारे। सानै उमेरदेखि कांग्रेससँग जोडिएको स्मरण गर्दै उनले पार्टीबाट कसैले हटाइदिन्छ भनेर आफू नहट्ने दृढता व्यक्त गरे।

“नवौँ कक्षामा पढ्दाखेरी म कांग्रेस बनेको हुँ। २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२/०६३ को आन्दोलनमा नेतृत्व गरें,” उनले भने, “कसैले हटायो भन्दैमा हट्ने होइन।”

थापाले विशेष महाधिवेशनको बन्दसत्रबाट आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने दाबी पनि गरे।