राजनीति

मन्सुर भन्छन्: ‘बहुमत कार्यकर्ताको वेग रोकिँदैन, कांग्रेस अब गगनकै नेतृत्वमा’

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षबाट कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीभित्र बहुमत नेता–कार्यकर्ताको चाहना र गतिलाई कुनै पनि निर्णयले रोक्न नसक्ने बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै मन्सुरले कांग्रेसको भावी नेतृत्व अब गगनकुमार थापाको हातमा मात्रै जान सक्ने दाबी गरे। पार्टीभित्र परिवर्तनको स्पष्ट बहुमत बनिसकेको उल्लेख गर्दै उनले अहिले भइरहेको विशेष महाधिवेशन नै वैधानिक निर्णयको केन्द्र भएको बताए।

“कांग्रेसभित्र बहुमत नेता–कार्यकर्ताले लिएको दिशालाई कुनै निर्णयले बदल्न सक्दैन,” मन्सुरले भने, “विशेष महाधिवेशन यहीँ भइरहेको छ र केही समयमै नयाँ केन्द्रीय कार्यसमिति चयन हुन्छ। यही कमिटी कांग्रेसको नेतृत्व गर्नेछ, अर्को कुनै संरचना छैन।”

उनले पार्टीलाई अघि बढाउने वैधानिक र राजनीतिक शक्ति विशेष महाधिवेशनमै केन्द्रित रहेको उल्लेख गर्दै नेतृत्व परिवर्तन अब अपरिहार्य भइसकेको संकेत गरे।