समाचार

चार महिनापछि राष्ट्रिय सभा बैठक सिंहदरबारमै किन ?

४ माघ, काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहान ११ः०० बजे अधिवेशन प्रारम्भ हुने तय भएको छ ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएपछि यसपटक अधिवेशन संघीय संसद सचिवालयमै सञ्चालन गर्न लागिएको हो ।

अधिवेशनको तयारीस्वरूप राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । आजको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज माघ ४ गते आइतबार बिहान ११ः०० बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि राष्ट्रिय सभाको १८औं अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचनको तयारी पनि तीव्र पारेको छ । आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउने तयारी भइरहेका कारण यो अधिवेशनलाई राजनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।