४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उपमेयरले स्वतः कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन्।
ऐनअनुसार मेयर पद रिक्त हुँदा उपमेयरले कार्यबाहकको रूपमा काम गर्ने व्यवस्था छ, सोही आधारमा डंगोलले जिम्मेवारी ग्रहण गरेकी हुन्।
मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय जानुअघि नै राजीनामा दिएका थिए। उनी केहीबेर ढिला गरी रास्वपा केन्द्रीय कार्यालय पुगेका छन्, जहाँ समर्थक र कार्यकर्ताको बाक्लो उपस्थिति रहेको बताइएको छ।
बालेन शाह रास्वपामा प्रवेश गरेर झापा–५ बाट आगामी निर्वाचन लड्ने तयारीमा रहेको जनाइएको छ। हाल उनी रास्वपाका वरिष्ठ नेताको रूपमा रहेका छन्।





