५ माघ, काठमाडौं । पूर्व खानेपानी मन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव औपचारिक रूपमा नेकपा एमाले प्रवेश गरेका छन्। उनी गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले यादवलाई खादा लगाएर स्वागत गरेका थिए। यादवसँगै वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र उनका समर्थक कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।
प्रदीप यादव यसअघि ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। तर गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि उनी ओलीसँग दूरी बढाउँदै सरकारबाट बाहिरिएका थिए। त्यसपछि उनले अशोक राई नेतृत्वको जसपा छाडेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल रोजेका थिए। हालसम्म उनी जसपा नेपालको समन्वय समिति सदस्य थिए।
प्रतिनिधि सभा निर्वाचनको मनोनयन नजिकिँदै गर्दा उनले जसपा नेपाल पनि छाडेर एमाले रोजेका छन्। स्रोतका अनुसार उनी आगामी चुनावमा पर्सा क्षेत्र नम्बर–१ बाट एमालेको तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् र अध्यक्ष ओलीले उनलाई टिकट दिने आश्वासन समेत दिइसकेका छन्।l





