समाचार

गगनको प्रस्ताव-देउवा समूहलाई टिकट, तर सर्वोच्चको रिट फिर्ता गर्नुपर्ने शर्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा देउवा पक्षका नेताहरूलाई पनि टिकट दिन सकिने प्रस्ताव अघि सारेका छन्, तर त्यसका लागि उनीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता लिनुपर्ने शर्त राखेका छन्।

पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको छलफलमा थापाले भनेका छन् यदि देउवा समूहले पार्टीको संस्थागत निर्णय स्वीकार गर्दै अदालतमा गएको रिट फिर्ता लिन्छ भने उनीहरूलाई पनि समान रूपमा टिकट वितरण प्रक्रियामा समावेश गर्न सकिन्छ।

उनका अनुसार अदालतमा चलिरहेको मुद्दाले पार्टीलाई कमजोर बनाएको र निर्वाचनको तयारीमा समेत असर पारिरहेको छ। त्यसैले एकताका लागि कानुनी विवाद अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

देउवा पक्षले भने यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन, तर पार्टीभित्र सहमतिको वातावरण बनाउन छलफल जारी रहेको नेताहरूले बताएका छन्।

कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइरहेका बेला गगनको यो प्रस्तावलाई महत्वपूर्ण मानिएको छ।