राजनीति

महामन्त्री पौडेल भन्छन्, ‘आजको बैठकले महत्वपूर्ण ऐतिहासिक निर्णय लिनेछ’

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज (शुक्रबार) बस्न गइरहेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकले ऐतिहासिक र निर्वाचन केन्द्रित निर्णय गर्ने बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो पटक बस्ने यो बैठकमा सहभागी भएका पौडेलले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “आजको बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण ठोस निर्णय गर्नेछ। यसले देशभर नयाँ तरंग सिर्जना गर्नेछ।”

सूत्रका अनुसार, दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यसै शुक्रबार बस्ने बैठकले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्दै निर्वाचनमा पार्टीलाई सक्रिय गर्ने तयारी गरेको छ।

पार्टीभित्रको यो निर्णयलाई देशव्यापी राजनीतिमा नयाँ उर्जा र तरंग ल्याउने अपेक्षा गरिएको छ।