१४ माघ, काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ ।
विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको र उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको बताइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।





