१४ माघ, काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा पवारको मृत्यु भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार अजित पवारका सहयोगीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । दुर्घटनाका बेला विमानमा पाँच जना यात्रु सवार थिए । अन्य यात्रुको अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
दुर्घटनापछि विमानमा आगलागी भएको र घटनास्थलबाट बाक्लो धुवाँ उठिरहेको तस्बिर तथा भिडियो सार्वजनिक भएका छन् । विमानका जलेका टुक्रा आसपासको क्षेत्रमा छरिएका देखिन्छन् ।
दुर्घटनाको कारणबारे हालसम्म आधिकारिक जानकारी आएको छैन । प्रारम्भिक रूपमा अवतरणका क्रममा प्राविधिक खराबी वा नियन्त्रण गुम्न सक्ने आशंका गरिएको छ । घटनाबारे भारतीय नागरिक उड्डयन निकायले अनुसन्धान सुरु गरेको जनाएको छ ।





