४ माघ, काठमाडौं । श्रृंखलाबद्ध रूपमा दम्पती हत्या गर्दै आएको समूह प्रहरी हिरासतमा रहेका बेला ओखलढुंगामा उस्तै शैलीको अर्को दम्पती हत्या भएको छ । घटनाले जिल्लामा पुनः त्रास फैलाएको छ ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको गएराति हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ भने सँगसँगै अनुसन्धान पनि अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा लुटपाटकै उद्देश्यले हत्या भएको देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा बाकस फुटाइएको अवस्थामा फेला परे पनि के–कति नगद तथा गरगहना लुटिएको हो भन्ने यकिन हुन सकेको छैन । वृद्ध दम्पती मात्रै बसोबास गर्ने घर भएकाले लुटिएको सामानको विवरण संकलनमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।
यस घटनालाई प्रहरीले दुई महिनाअघि ओखलढुंगामै भएको अर्को दम्पती हत्यासँग जोडेर अनुसन्धान गरिरहेको छ । १५ पुसमा चिशंखुगढी–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको लुटपाटका क्रममा हत्या भएको थियो । अहिले राई दम्पतीको हत्या पनि उस्तै कार्यशैली (मोडस अपरेन्डी) मा भएकाले सोही घटनासँग मिल्दोजुल्दो देखिएको प्रहरीको निष्कर्ष छ ।
भदौरे दम्पती हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्मको टोलीले अनुसन्धान गरी चार जनालाई पक्राउ गरिसकेको छ । ती सबै अहिले पनि प्रहरी हिरासतमा छन् र उनीहरूविरुद्ध जिल्ला अदालत ओखलढुंगामा हत्याको मुद्दा दर्ता भइसकेको छ ।
तर, सो समूह हिरासतमा हुँदाहुँदै पनि फेरि उस्तै शैलीको हत्या भएपछि घटनाले रहस्यमय रूप लिएको छ । प्रहरीका अनुसार उक्त समूहका अन्य सदस्य बाहिरै रहेर अपराधमा संलग्न भएको हुनसक्ने आशंका गरिएको छ ।
यसअघि पनि यही समूहले ओखलढुंगाकै सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को हत्या गरेको खुलेको थियो । ती घटनामा प्रयोग भएका हतियार, लुटिएका सुनका गरगहना तथा अन्य सामग्री प्रहरीले बरामद गरिसकेको छ ।
लगातार उस्तै शैलीमा हत्या दोहोरिनु र मुख्य अभियुक्तहरू हिरासतमा रहँदा पनि नयाँ घटना घट्नुले ओखलढुंगाको दम्पती हत्या श्रृंखला थप जटिल र रहस्यमय बन्दै गएको छ । प्रहरीले सबै कोणबाट अनुसन्धान तीव्र पारेको जनाएको छ ।





