१६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार निर्वाचन आयोगलाई निर्वाचन व्यवस्थापनका लागि सबैभन्दा बढी बजेट स्वीकृत गरिएको छ । आयोगका लागि १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो भने २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्वीकृत गरिएको छ । यससँगै निर्वाचन आयोगका लागि कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति पुगेको छ ।
निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो । आयोगको तथ्यांकअनुसार हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ ।
निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई पनि उल्लेख्य बजेट व्यवस्था गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो । त्यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ ।
यसैगरी, गृह मन्त्रालय तथा मातहतका निकायका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । साथै, नेपाली सेनालाई २० पुसमा थप १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ ।
अर्थ मन्त्रालयका अनुसार निर्वाचनलाई सुरक्षित, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको हो ।





