१९ माघ, काठमाडौं । संविधानसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। उनले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा देवले एमाले व्यक्तिवाद र देवत्वकरणतर्फ उन्मुख हुँदै गएको, साथै स्वेच्छाचारी र विभेदकारी शैलीमा सञ्चालन भइरहेको भन्दै त्यसप्रति असहमति जनाएका छन्। पार्टीको विचार, नीति र व्यवहारसँग आफू सहमत हुन नसकेको कारण एमाले त्यागेको उनको भनाइ छ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा सक्रिय थिए। पछि उनले एमाले छाडेर विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए, जहाँबाट उनी संविधानसभा सदस्य बने। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि नेपाली कांग्रेसमा समाहित भएका थिए। सोही क्रममा उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत भएका थिए।
उनको राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो। त्यसपछि १७ असार २०८१ मा उनी पुनः एमालेमा फर्किएका थिए। तर पुनः पार्टीभित्रका गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गर्ने निर्णय लिएका हुन्।





