समाचार

गगन थापादेखि ओलीसम्मको नाम प्रयोग गरी रकम उठाएको आरोपमा अमेरिकी नागरिक पक्राउ

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा रकम संकलन गर्ने प्रयास गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। विभागका अनुसार उनले कलेजसम्बन्धी वेबसाइटहरूमा नेपालका चर्चित राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूको नाम र तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ शीर्षकमा प्रचार गरी फण्ड संकलन गर्ने प्रयास गरेका थिए।

उक्त सूचीमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जनाको नाम उल्लेख गरिएको पाइएको अध्यागमन विभागले जनाएको छ। यसबाहेक लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिमको नाममा अन्य प्रतिष्ठित नेपालीहरूको नामसमेत प्रयोग गरिएको भेटिएको छ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार ‘निकलेज इडीयू एनपी’ नामक वेबसाइटमार्फत कोरियन भाषा, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिज्सलगायत विषय पढाइ हुने भन्दै प्रचार गरिएको थियो। सो कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरिए पनि त्यसको आधिकारिक प्रमाण भने प्रस्तुत गर्न नसकिएको विभागले जनाएको छ।

पक्राउ परेका ती अमेरिकी नागरिक सन् २०१४ देखि नेपाल आउन थालेको र पछिल्लो १२ वर्षमा ५० भन्दा बढी पटक नेपाल भ्रमण गरेको देखिएको छ। उनी पर्यटक, वर्किङ तथा व्यवसायिक भिसामार्फत नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

व्यवसायिक भिसा लिन उनले नेपालमा ‘कमसिड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरेको र चर्च प्लान्टिङलगायत गतिविधिमा संलग्न रहेको विभिन्न प्रमाणबाट पुष्टि भएको अध्यागमन स्रोतले जनाएको छ। विभागले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।