समाचार

जेनजी आन्दोलनका शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२० माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारलाई झण्डै १२ करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शहीद परिवारलाई वितरण गरिने रकम र कार्यक्रमको खाका सोमबार अर्थ मन्त्रालयमा पेस गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार जीवन निर्वाह भत्ता दिने निर्णय गरिएको भए पनि जेनजी पक्षबाट कर्मचारीले तलब पाएजस्तै भत्ता दिनुपर्ने माग उठेपछि मन्त्रिपरिषद्ले अनुदान रकम दिने निर्णय गरेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये सरकारले ४२ जनालाई शहीद घोषणा गरिसकेको छ।