समाचार

नेकपासँग तालमेल छैन, एमाले एक्लै चुनावी मैदानमा उत्रिन्छ : पृथ्वीसुब्बा गुरुङ

२० माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग कुनै चुनावी तालमेलको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले २३ र २४ भदौमा भएका घटनालाई लिएर एमाले र नेकपाबीच दृष्टिकोण नै फरक रहेको बताए । ती घटनालाई एमालेले प्रतिगमन र प्रतिक्रान्तिका रूपमा व्याख्या गरिरहेको अवस्थामा नेकपाले त्यसलाई क्रान्तिकारी र लोकतान्त्रिक अभ्यास भनेको भन्दै दुवै पार्टीको राजनीतिक धार पूर्णतः विपरीत दिशामा रहेको उनको भनाइ थियो ।

उनले राजनीतिमा असम्भव भन्ने कुरा नहुने स्वीकार गरे पनि वर्तमान अवस्थामा तत्काल तालमेल हुने सम्भावना नदेखिएको बताए । “आजको परिस्थितिमा हेर्दा एमाले र नेकपाको डिपार्चर नै फरक छ, एउटै दिशामा जान सक्ने अवस्था छैन,” गुरुङले भने ।

कांग्रेसले पनि एक्लै चुनाव लड्ने संकेत गरिरहेको सन्दर्भमा एमाले पनि एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने उनले जानकारी दिए । लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति नेकपा प्रतिबद्ध नभएको उनको दाबी थियो ।

गुरुङले अराजकता, अस्थिरता र प्रतिगमन सच्याउन एमाले लागिरहने भन्दै केही स्थानमा आवश्यकता अनुसार सीमित सहकार्य हुन सक्ने सम्भावना भने खुला राखे । तर, त्यसलाई चुनावी तालमेलका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

त्यस्तै, आफूलाई नयाँ र अरूलाई पुरानो भनेर आरोप लगाउने केही पार्टी र व्यक्तिहरूसँग स्पष्ट एजेन्डा नै नरहेको गुरुङले टिप्पणी गरे । लामो इतिहास र योगदान भएका पार्टीहरूलाई आरोपकै भरमा अप्रासंगिक ठहर गर्न नसकिने भन्दै उनले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी पनि गरे ।