२१ माघ, काठमाडौं । नेपाल आयल निगमले पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभावको हल्ला फैलिएको बारेमा स्पष्ट गर्दै त्यो निराधार भएको जनाएको छ। निगमले ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको बताउँदै उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिण्डर) ग्यासको माग रहेको जानकारी दिए। तर भारतीय आयल कर्पोरेसन (आईओसी) बाट हालसालै मागभन्दा बढी ग्यास लोडिङ भइरहेको उनले बताए।
उनका अनुसार गत शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिण्डर), आइतबार ११५ बुलेट (१ लाख ४५ हजार ५ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिण्डर) ग्यास लोडिङ भएको छ। लोडिङ भएका ग्यासमध्ये केही नेपाल भित्रिसकेका छन् भने केही बाटोमा रहेको भट्टले जानकारी दिए।
उपभोक्तालाई अनावश्यक रुपमा सिलिण्डर स्टक नगर्न आग्रह गर्दै उनले भने, “ग्यास आपूर्ति नियमित र पर्याप्त छ। त्रास वा सञ्चयले मात्र बजारमा कृत्रिम दबाब सिर्जना हुन्छ।”





