आर्थिक

६५ तोला सुनसहित चोरीका आरोपी पक्राउ, नियन्त्रणमा लिन गोली प्रहार

२२ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई गोली हानेर पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बाँके घर भएका प्रेम चौधरी हुन् ।

विशेष सूचनाका आधारमा अनुसन्धान टोलीले गएराति काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकाल क्षेत्रमा चौधरीलाई पछ्याएको थियो । राति करिब साढे ११ बजे उनलाई नियन्त्रणमा लिन खोज्दा चौधरीले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।

गोली लागेर चौधरीको खुट्टा घाइते भएको छ । उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । घटनाका क्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका छन् ।

पक्राउ परेका चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदीका गरगहना, नगद रकम तथा घरेलु हतियार बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बताए ।

प्रहरीका अनुसार चौधरी काठमाडौं उपत्यकामा पछिल्लो समय भएका चोरीका घटनाका मुख्य आरोपी हुन् । यसै हप्ता भोटेबहालमा करिब २५ तोला सुन चोरी भएको थियो भने मंगलबार बौद्ध टुसालस्थित एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएको थियो । साथै, कालिमाटी र ललितपुरका विभिन्न स्थानमा पनि नगद तथा गरगहना चोरीका घटनाहरू भएको प्रहरीको भनाइ छ ।

प्रहरीले चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।