२४ माघ, काठमाडौं । कुनै समय सुदूरपश्चिममा नेकपा एमालेभित्र भीम रावलको प्रभाव निकै बलियो थियो। केन्द्रीय उपाध्यक्ष र प्रदेश इन्चार्जका रूपमा रहँदा उनले दिएको निर्देशन कार्यकर्तादेखि संगठनसम्म अक्षरसः पालना हुन्थ्यो। त्यसबेला धेरैले सुदूरपश्चिमको भूगोलबाट राष्ट्रिय राजनीतिमा शेरबहादुर देउवापछिको सम्भावित प्रभावशाली नेताका रूपमा रावललाई देख्थे।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएपछि रावलको राजनीतिक यात्रा ओरालो लाग्यो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट टिकट नपाएपछि उनी संसदीय राजनीतिबाट बाहिरिए। त्यसपछि पार्टी कारबाहीमा परेर एमालेबाट निष्काशितसमेत भए।
हाल रावल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले उनलाई अछाम–१ बाट उम्मेदवार बनाएको छ। तर यसपटक उनी पहिले जस्तो शक्तिशाली संगठन र प्रभावसहित चुनावी मैदानमा देखिएका छैनन्।
एमालेको संगठित शक्ति नहुँदा र मतदातामा भविष्यको राष्ट्रिय नेतृत्वप्रति पहिलेजस्तो भरोसा नदेखिँदा पनि रावल भने आफूलाई सम्भावित शीर्ष नेताकै रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। चुनावी सभाहरूमा उनी प्रायः स्थानीय अछामी भाषामै सम्बोधन गर्दै भविष्यमा देशको नेतृत्व सम्हाल्ने दाबी गर्छन्।
यस क्रममा उनले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्दै सहानुभूति बटुल्ने प्रयाससमेत गरेका छन्। अछामी भाषामै दिएको एक भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ, जहाँ उनले देउवामाथि विगतमा भएको दमनको चर्चा गर्दै कांग्रेस कार्यकर्तालाई आफ्ना कुरा सुन्न आग्रह गरेका छन्।
भाषणको अन्त्यतिर रावलले सुदूरपश्चिमका जनतालाई एकताबद्ध हुन आह्वान गर्दै अब यो क्षेत्रबाट उठ्ने आवाज सिंहदरबारसम्म सुनिनुपर्ने बताएका छन्।
राजनीतिक रूपमा कमजोर अवस्थाबाट पुनः उभार खोजिरहेका रावलको यो रणनीतिले अछाम–१ को चुनावी नतिजामा कस्तो प्रभाव पार्छ, त्यो भने निर्वाचनपछि मात्रै स्पष्ट हुनेछ।





