आर्थिक

जेन–जी आन्दोलनले ध्वस्त बनाएको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

२४ माघ, काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वर शाखा शनिबारदेखि पुनः खुला गरिएको हो।

पुनः सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भविष्यमा नेपालमा यस्ता घटना दोहोरिन नदिन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। उनले आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी हुनु दुःखद् भए पनि त्यसमा मात्र पश्चाताप गरेर बस्ने पक्षमा आफू नरहेको स्पष्ट पारे।

गुरुङले भने, “अब उप्रान्त मेरो देश नेपालमा यस्तो घटना कहिल्यै नहोस् भन्ने कामना गर्छु। नेपाल राम्रो होस्, राम्रो हुनैपर्छ। भएको दुर्घटनाको ठूलो भार भाटभटेनीले बेहोर्नुपर्‍यो, तर हामीले हिम्मत हारेनौँ। पूर्ण रूपमा क्षति भएको भाटभटेनी फेरि उठाइएको छ।”

उनले जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका अन्य ११ वटा भाटभटेनी सुपरमार्केट पनि छिट्टै पुनः सञ्चालनमा ल्याइने जानकारी दिए। “क्रमशः सबै भाटभटेनी फेरि उठ्नेछन्। भाटभटेनी मात्रै होइन, नेपाल नै उठ्छ। नेपालीसँग हिम्मत र क्षमता दुवै छ,” उनले भने।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि आक्रमण हुँदा भाटभटेनी सुपरमार्केट अन्तर्गतका १२ वटा शाखा ध्वस्त भएका थिए। ती घटनाबाट अर्बौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।