२६ माघ, काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
उक्त विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा प्रस्तुत गरी राष्ट्रिय सभामा दर्ता गराएका थिए। १४ वैशाख २०८२ मा सभामा प्रस्तुत भएको विधेयकलाई ११ साउन २०८२ मा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। समितिबाट पारित भई सभामा पेश भएपछि राष्ट्रिय सभाले समेत पारित गरेको हो।
विधेयक ऐनमा रूपान्तरण भएसँगै पर्यटकीय गतिविधिको प्रवर्द्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न सहज हुने सरकारको विश्वास छ। साथै, पर्यटकको हित, सुरक्षा र सुविधाको अभिवृद्धि गर्ने उद्देश्य विधेयकमा समेटिएको छ।
पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य बढाउँदै राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान वृद्धि गर्न पर्यटनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गरी समयानुकूल बनाउने उद्देश्यसहित यो विधेयक ल्याइएको हो।
अब उक्त विधेयक प्रतिनिधिसभामा पठाइनेछ। प्रतिनिधिसभाबाट समेत पारित भएपछि पुनः राष्ट्रिय सभामा फर्किएर सभाध्यक्षमार्फत राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।





