९ फागुन, काठमाडौं । निर्वाचन आयोगले दाङमा भएको झण्डा जलाउने घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङका कार्यकर्ताले तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओली विरुद्ध असभ्य नाराबाजी गरेको विषयमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन पत्र पठाएको हो।
आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा घटना सम्बन्धी तथ्य स्पष्ट पार्न भनिएको छ। पत्रमा तुलसीपुरमा भएको भनिएको घटनामा साँच्चै एमालेको झण्डा जलाइएको हो वा होइन, तथा अध्यक्ष ओलीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा यथार्थ विवरण इमेलमार्फत पठाउन निर्देशन दिइएको छ।
निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा आयोगले चासो देखाएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेकाले अब रास्वपाको स्पष्टीकरणपछि आयोगले के कदम चाल्छ भन्ने चासो बढेको छ।





