समाचार

रौतहटमा निर्वाचन लक्षित कडा सुरक्षा, बख्तरबन्द गाडीसहित सेनाको गस्ती

१७ फागुन, रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले जिल्लाभर व्यापक गस्ती सुरु गरेको हो।

रौतहटमा तैनाथ नेपाली सेनाको श्री नारायणदल गण ले पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीसहित सुरक्षा निगरानी बढाएको जनाएको छ। सम्भावित जोखिम न्यूनीकरण गर्न मतदान स्थलहरू आसपास विशेष सतर्कता अपनाइएको छ भने जिल्लाका विभिन्न स्थानमा एकैसाथ गस्ती परिचालन गरिएको छ।

जिल्लाका सबै १७ वटै स्थानीय तहमा सेनाको उपस्थिति सुनिश्चित गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको सेनाले जनाएको छ। मतदान केन्द्र वरपर कुनै अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको छ।

निर्वाचन सुरक्षाका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। उनले मतदातालाई ढुक्क र निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा रौतहटमा सुरक्षा सतर्कता उच्च पारिएको छ, जसले आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास गरिएको छ।