समाचार

रुपन्देही–२ मा कांग्रेस उम्मेदवारलाई राप्रपाको समर्थन

१७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा आफ्ना उम्मेदवार नउतारेपछि नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ।

राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार कांग्रेससँग वैचारिक र सिद्धान्तगत फरक रहे पनि आर्थिक विकास, सामाजिक स्थिरता र समृद्धिका साझा मुद्दामा सहमति भएकाले पौडेललाई मत दिने निर्णय गरिएको हो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रमा राप्रपाले समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो। उक्त मत परिणामलाई आधार मान्दै यसपटक कांग्रेस उम्मेदवारलाई समर्थन गर्दा निर्वाचन परिणाममा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

राप्रपाले यस सम्बन्धमा औपचारिक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तथा समर्थकलाई कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न आह्वानसमेत गरेको छ।