अन्तर्राष्ट्रिय

अमेरिका–इजरायल–इरान तनावपछि कच्चा तेलको मूल्य उकालो

काठमाडौं, १८ फागुन । अमेरिका, इजरायल र इरान बीच बढ्दो तनाव र हमलापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।

एशियाली बजार सोमबार बिहान खुल्दा ब्रेन्ट क्रुडनायमेक्स लाइट स्वीट आयल दुवैको मूल्य १० प्रतिशतभन्दा बढीले उकालो लागेको थियो। पछि भने मूल्यवृद्धिमा केही कमी आएको बीबीसीको हिन्दीले जनाएको छ।

बिहान करिब ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य झण्डै ९ प्रतिशतले बढेर प्रतिब्यारेल ७९.३० डलर आसपास पुगेको थियो। त्यस्तै नायमेक्स लाइट स्वीट आयल करिब ८.५ प्रतिशत वृद्धि भई ७२.७० डलर प्रतिब्यारेलको हाराहारीमा कारोबार भएको थियो।

यी दुवै कच्चा तेलका प्रमुख अन्तर्राष्ट्रिय मानक जसको आधारमा विश्व बजारमा तेलको मूल्य निर्धारण गरिन्छ।

क्षेत्रीय संघर्ष चर्किँदै

इरान र इजरायलबीच पछिल्लो समय प्रत्यक्ष संघर्ष भइरहेको छ। दुवै देशले एक–अर्कामाथि आक्रमण गरिरहेका छन्। प्रारम्भिक रूपमा शनिबार बिहान अमेरिका र इजरायलले इरानमाथि हमला गरेको खबर सार्वजनिक भएको थियो।

उक्त हमलामा इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनी को मृत्यु भएको दाबी गरिएको छ। साथै इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवी र रक्षामन्त्री अजीज नासिरजादेह लगायत उच्च अधिकारीहरू पनि मारिएको उल्लेख गरिएको छ।

विश्व बजारमा तेलको आपूर्ति अस्थिर हुने आशंकाले लगानीकर्ता सतर्क बनेका छन्, जसका कारण ऊर्जा बजारमा तीव्र उतार–चढाव देखिएको छ। आगामी दिनमा द्वन्द्वको अवस्था कस्तो रहन्छ भन्ने आधारमा मूल्य अझै अस्थिर हुन सक्ने विश्लेषकहरूले बताएका छन्।