२० फागुन, काठमाडौं । पर्सामा चुनावको मुखमा धार्मिक सद्भाव भड्काउने उद्देश्यसहित हिँडिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ९ वटा सुतली बम र सुँगुरको टाउको बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारीमा थिए। उनीहरूले पसलबाट सुँगुरको टाउको खरिद गरी दुई टुक्रा पारेर मस्जिदमा फाल्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोलीले गएराति नै उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नौ थान सुतली बम, केही तार र अन्य शंकास्पद सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले मनोज चौधरीलाई पनि शंकास्पद वस्तुसहित पक्राउ गरेको पुष्टि गरेको छ। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।





