बाग्मती

दोलखामा सहकारी परिचयपत्र देखाएर भोट हाल्ने क्रममा विवाद

२१ फागुन, काठमाडौं – दोलखाको कालिञ्चोक गाउँपालिका–८, कालीनाग मतदान स्थलमा मतदान प्रक्रिया सम्बन्धी विवाद भएको छ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार, मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको व्यक्ति सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको हो।

हाल उक्त विवादलाई समाधान गर्न छलफल भइरहेको उनले जानकारी दिए। मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयपत्रबाट मतदान गर्न सकिने प्रावधान भए पनि सहकारी परिचयपत्रबारे केही स्पष्टता थिएन, जसले विवादको जरा बनेको अधिकारीले बताए।

अन्ततः, मतदाता नामावलीमा नाम रहेकाले भोट हाल्न दिने गरी सहमति पुग्ने प्रक्रियामा छ।