काठमाडौं, २६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह ले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।
सोमबार साँझ नरेन्द्र मोदी, भारत का प्रधानमन्त्रीले बालेन्द्र शाह र रवि लामिछाने सँग टेलिफोन संवाद गर्दै निर्वाचन सफलताका लागि बधाई दिएका थिए। उक्त जानकारी मोदीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
मोदीले आफ्नो सन्देशमा रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिँदै नयाँ बन्ने सरकारका लागि शुभकामना व्यक्त गरेका छन्। साथै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
मोदीको उक्त सन्देशमा प्रतिक्रिया दिँदै बालेन्द्र शाह ले शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन्। उनले नेपाल र भारत बीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले सन्देशमा लेखेका छन्, “शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यु। नेपाल–भारत बीच विद्यमान ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।”
साथै उनले लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई पनि हार्दिक बधाई ज्ञापन गरेका छन्।





