काठमाडौं, २७ फागुन । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दर्ता भएको रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवाइ सुरु गर्ने आदेश दिएको छ।
न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो। सुनुवाइ सुरु भएको दुई–तीन दिनभित्र सर्वोच्च अदालतले आदेश सुनाउने अपेक्षा गरिएको छ।
यसअघि महान्यायाधिवक्ता सविना भण्डारी बरालले रवि लामिछानेविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्न तथा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन्।
त्यही निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी लगायत तीन जना तथा युवराज पौडेलले रिट निवेदन दर्ता गरेका हुन्।





