२७ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्ट र पक्राउ परेका आरोपितको बयानका आधारमा प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोर र इनिसा विकबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। फागुन २३ गते बिहान शहीद पार्क घुम्न जाने पूर्व सहमतिअनुसार उनीहरू पार्क नजिकैको जंगलमा पुगेको बताइएको छ।
कर्णाली प्रदेश अस्पताल कालागाउँका चिकित्सकहरू तथा भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यसहितको टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार प्राप्त भएको छ। रिपोर्टअनुसार जबरजस्ती करणीका क्रममा पीडिताको संवेदनशील अंग गम्भीर रूपमा च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको चिकित्सकहरूले बताएका छन्।
घटनापछि न्यायको माग गर्दै देशका विभिन्न स्थानमा आवाज उठ्न थालेको छ। बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा पीडित परिवार, आफन्त तथा अधिकारकर्मीहरूले प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेत पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
यसैबीच संघीय राजधानी काठमाडौंको माइतीघरमा पनि दलित समुदायमाथि बढ्दो हिंसाको विरोध गर्दै अधिकारकर्मी तथा युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले महिला हिंसा अन्त्य गर्न, बलात्कारका घटनामा संलग्नलाई कडा कारबाही गर्न तथा दलित समुदायमाथि भइरहेका अत्याचार अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया आएको छ। विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा कलाकारहरूले घटनालाई अत्यन्त दु:खद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पीडित परिवारसँग भेटघाट गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।





