बाग्मती

कांग्रेस महामन्त्री पौडेलले चुनावमा खर्च गरे २३ लाख ८६ हजार

२८ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनावमा २३ लाख ८६ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।

काठमाडौँ ५ बाट उम्मेदवार भएका पौडेलले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा खर्च विवरण बुझाउँदै २३ लाख ८६ हजार ३६८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।उनी काठमाडौँमा अहिलेसम्म खर्च विवरण बुझाउने २८ औँ उम्मेदवारसमेत भएका छन् ।

खर्च विवरणअनुसार सबैभन्दा धेरै प्रचार प्रसार सामग्रीमा ५ लाख ५३ हजार ३५० रुपैयाँ खर्च भएको देखाएका छन् ।

त्यस्तै सवारी साधनमा ४ लाख ९० हजार, मानव स्रोत साधन तथा विविधमा ४ लाख ६४ हजार२५० रुपैयाँ खर्च भएको छ । मतदाता भेटघाट तथा सभा गर्दा ३ लाख ३९ हजार ९२५ रुपैयाँ खर्च भएकोसमेत उल्लेख छ ।

साथै फोन तथा मिडिया खर्चका रूपमा २ लाख ५५ हजार ७८ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

सम्पर्क कार्यालय सञ्चालन गर्दा २ लाख २५ हजार ८२५, प्रिन्टिङ एन्ड स्टेशनरीमा ४७ हजार ९४० तथा मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको विवरणसमेत उनले पेश गरेका छन् ।