काठमाडौँ, १ चैत । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी सम्बन्धी विवादमा तत्काल कुनै अन्तरिम आदेश आवश्यक नपर्ने निर्णय गरेको छ।
किशोरी साहले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको निर्णय खारेज गरी उम्मेदवारी कायम गर्न अदालतमा रिट दायर गरेकी थिइन्। साथै उनले अन्तरिम आदेश मागेकी थिइन्, जसबाट आयोगको निर्णय तत्काल रोक्न सकियोस् भन्ने उनको माग थियो।
तर न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको ठहर गरेको छ।
यस आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ। त्यसका कारण धनुषा क्षेत्र नम्बर १ बाट मात्रिका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय पनि कायम रहनेछ।
अदालतमा मुद्दाको अन्तिम सुनुवाइ भने अझै बाँकी छ।





