समाचार

अख्तियारद्वारा सर्वोच्चमा विशेष अदालतको थुनछेक आदेशविरुद्ध निवेदन

२ चैत, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतले जारी गरेका थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) सोमबार सर्वोच्च अदालत पुगेको छ। अख्तियारले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतसँग माग गरेको छ।

अख्तियारले विमानस्थल निर्माणको क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको आरोपसहित गत मंसिर २१ गते पाँच जना पूर्व मन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले केही प्रतिवादीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा छाड्ने आदेश दिइसकेको थियो।

फागुन १२ गते सुशील घिमिरे, फागुन २५ गते सुमनकुमार श्रेष्ठ र रञ्जनकृष्ण अर्याललाई धरौटी मागेर पुर्पक्षको मौका दिइएको थियो। त्यस्तै, अन्य प्रतिवादीहरूलाई फागुन ४, ५, १०, ११ र २७ गते साधारण तारेखमा छाड्ने आदेश दिइएको थियो। अख्तियारले यी आदेशलाई बेरीत रहेको दावी गर्दै सर्वोच्चमा पुनरावलोकन माग गरेको छ।

स्रोत अनुसार, अख्तियारले भ्रष्टाचार बराबरको बिगो रकम असुल गरी दोषीलाई कैद सजायको माग पनि गरेको छ।