राजनीति

सीपीसीको शुभकामना सन्देश: रास्वपा–चीन सम्बन्ध नयाँ उचाइतर्फ

३ चैत, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रूपमा बधाई तथा शुभकामना सन्देश पठाएको छ।

रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जारी गरेको विज्ञप्तिअनुसार सीपीसीबाट प्राप्त पत्रमा दुई दलबीच बढ्दो सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

सन्देशमा चीन–नेपालबीचको राजनीतिक विश्वास अझ गहिरो बनाउँदै दुवै देशका जनताको हितका लागि “साझा भविष्यसहितको समुदाय” निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख छ। साथै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको प्रशंसा गर्दै उनीहरूको भूमिकाले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

सीपीसीले अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि रास्वपासँग सहकार्य गर्न इच्छुक रहेको पनि जनाएको छ।

रास्वपाले भने नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी देशहरूसँग सन्तुलित र प्राथमिक सम्बन्ध कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, प्राप्त शुभकामना र ऐक्यबद्धताका लागि सीपीसीप्रति धन्यवाद ज्ञापन गरेको छ।