समाचार

कैलालिमा सशस्त्रको गुल्मभित्रै डीएसपीमाथि कुटपिट

५ चैत, काठमाडौं । कैलालिमा सशस्त्र प्रहरी बलका डीएसपीमाथि गुलभित्रै हातपात भएको छ । कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्मका प्रमुख एवं डीएसपी प्रदीप पौडेलमाथि भित्रै प्रवेश गरेर केही युवाले बुधबार अभद्र व्यवहार तथा हातपात गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सशस्त्र प्रहरी बलका अनुसार, तस्करीको केही सामान बरामद गरिएको थियो । त्यसक्रममा तस्करीमा संलग्न केही युवा र सशस्त्र प्रहरीका सुरक्षाकर्मीबीच वादविवाद भएको थियो । सोहीक्रममा केही युवा गुल्मभित्र प्रवेश गरेर कार्यालय प्रमुख डीएसपीमाथि हातपातमा उत्रिएका हुन् ।

घटनाबारे सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले छानबिन थालेको छ । छानबिनका निम्ति गुल्मका अधिकांश सुरक्षाकर्मीलाई फिर्ता बोलाउने तयारी गरिएको छ । उनीहरूलाई नम्बर ३४ गण कैलालीमा बोलाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नम्बर ३४ गणबाट २७ जनाको टोली मद्दतका निम्ति त्यहाँ पठाइएको छ । नम्बर ४३ गण वनभेडा ९कैलाली०बाट छानबिनका लागि पनि टोली गएको छ ।