समाचार

सरकार गठनको काउन्टडाउन सुरु: चैत १२ शपथ, १६ मा संसद् बैठकको तयारी

५ चैत, काठमाडौं ।  काठमाडौंमा संघीय संसद्को नयाँ अधिवेशन बोलाउने तयारी तीव्र बनेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै संसद् सञ्चालनको प्रक्रिया अघि बढाइएको हो।

संघीय संसद् सचिवालयले बिहीबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आगामी कार्यतालिका तय गरेको छ। सहमति अनुसार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने निश्चित गरिएको छ। सो दिन बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन् भने दिउँसो २ बजे उनले अन्य सांसदहरूलाई शपथ गराउनेछन्।

शपथ ग्रहणपछि सरकार गठनको प्रक्रिया सुरु हुनेछ। चैत १३ देखि १५ गतेसम्म सरकार निर्माणसँग सम्बन्धित गतिविधि सञ्चालन हुनेछन्। त्यसपछि चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी गरिएको छ।

सर्वदलीय बैठकमा पहिलो बैठकको कार्यसूचीबारे पनि प्रारम्भिक छलफल भएको छ। बैठकमा राष्ट्रपतिद्वारा अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन, सरकारका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने, तथा दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्न समय दिने जस्ता कार्यक्रम समावेश गरिने अभ्यास रहेको छ।

संसद् सचिवालयका प्रवक्ताका अनुसार शपथपछि तत्काल अधिवेशन आह्वान हुने तयारी गरिएको छ, जसले नयाँ सरकार गठन र संसद् सञ्चालनलाई औपचारिक रूप दिनेछ।