राजनीति

सुरेन्द्र पाण्डेको दाबी-यस्ता तीन उपाय अपनाए एमाले पुनः शक्तिशाली हुन्छ

७ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे ले पार्टीलाई आधुनिक र शक्तिशाली बनाउनका लागि इतिहासको ब्याजमा नभई भविष्यको लगानीमा ध्यान दिन आवश्यक रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत पाण्डेले पार्टी पहिलेकै लयमा फर्कने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्दै भने, “के अब एमाले पहिलेकै लयमा फर्किन्छ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौं। तर यसका लागि हामीले ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ।”

उनले एमालेलाई केवल राजनीतिक शक्ति मात्र नभई देशका जटिल समस्या समाधान गर्ने गतिशील संस्था बन्नुपर्नेमा जोड दिएका छन्। पाण्डेका अनुसार, अबको एमालेले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ। पहिलो, विज्ञतामा आधारित राजनीति: पार्टीले भाषण मात्र नभई विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ। दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचमा आधारित जिम्मेवारी दिने प्रथालाई अन्त्य गरी आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्। तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।

पाण्डेका अनुसार, यी तीन उपाय अपनाए एमाले केवल राजनीतिक अस्तित्व कायम राख्ने मात्र होइन, देशका चुनौतीहरूको समाधानमा पनि अग्रणी भूमिका खेल्न सक्षम हुनेछ।