९ चैत, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन भदौमा गर्ने तयारी अघि बढाएको छ। मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकाबारे औपचारिक छलफल हुने नेताहरूले जानकारी दिएका छन्।
सभापति चुनावपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन्। यसअघि उपसभापतिको अध्यक्षतामा बसेको बैठकले सभापतिको राजीनामा अस्वीकृत गरेको थियो।
मंगलबारको बैठकमा सभापतिले अध्यक्षता गर्ने र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए। प्रारम्भिक योजना अनुसार भदौ २४ मा बीपीको जन्मजयन्तीको अवसरमा महाधिवेशन उद्घाटन गर्ने योजना बनाइएको छ। त्यसअघि वर्षा सुरु हुनुअघि क्रियाशील सदस्यताको काम टुंग्याएर तल्लो तहका अधिवेशनहरू सुरु गर्ने तयारी गरिएको छ।
यसअघि पुस महिनामा महाधिवेशन गर्ने कार्यतालिका ल्याइए पनि कार्यान्वयन हुन सकेको थिएन। नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन गरिएको थियो, जसमा पूर्व सभापति र अन्य नेताहरूले असन्तुष्टि जनाएका थिए।
यता, पार्टीभित्र क्रियाशील सदस्यता सम्बन्धी विषयमा नयाँ बहस सुरु भएको छ। केही नेताहरूले पुराना सदस्यता खारेज गरेर नयाँ प्रणालीबाट अघि बढ्नुपर्ने माग गरेका छन् भने धेरै स्थानमा सदस्यता वितरणको काम लगभग सकिएको छ। यी दुवै पक्षलाई ध्यानमा राखेर सदस्यता सम्बन्धी अन्तिम निर्णय लिन तयारी भइरहेको बताइएको छ।





