चैत ११, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ भएको दाबी गरेका छन्।
जाँचबुझ आयोगसमक्ष दिएको बयानमा लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट आन्दोलनमा बाह्य समूहको प्रवेश भएको संकेत स्पष्ट देखिएको बताएका हुन्। उनका अनुसार आन्दोलनका मागहरू मूलतः सही भए पनि त्यसलाई पछि हिंसात्मक मोड दिइएको थियो।
लेखकले राज्यका ऐतिहासिक तथा महत्वपूर्ण संरचनामाथि भएको आक्रमणलाई केवल आवेगको परिणाम भनेर व्याख्या गर्न नमिल्ने बताएका छन्। उनले यस्ता घटनाहरू योजनाबद्ध र गम्भीर प्रकृतिका भएको धारणा राखेका छन्।
उनका अनुसार घटनाअघि नै सामाजिक सञ्जाल र अन्य माध्यममार्फत असन्तुष्टि र आक्रोश बढिरहेको सूचना सुरक्षा निकायबाट प्राप्त भएको थियो। साथै, आन्दोलनका अगुवाहरूले नै “आन्दोलन हाइज्याक हुँदैछ” भन्दै सहभागीलाई फर्किन आह्वान गरेको विषयले पनि घुसपैठ भएको पुष्टि गर्ने उनले बताएका छन्।
लेखकले आफूले प्रत्यक्ष फिल्डमा आदेश नदिएको स्पष्ट पार्दै नीतिगत निर्देशन, समन्वय र राजनीतिक सहजीकरण गर्ने भूमिकामात्र निर्वाह गरेको उल्लेख गरेका छन्।



