समाचार

ओलीको निर्देशन: संसद्मा पार्टीकै धारणा बोल्नू, व्यक्तिगत अभिव्यक्ति होइन

१२ चैत, काठमाडौं । केपी शर्मा ओली ले पार्टीका सांसदहरूलाई संसद्मा व्यक्तिगत धारणा होइन, पार्टीको आधिकारिक विचार मात्रै प्रस्तुत गर्न निर्देशन दिएका छन्।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँगको भेटमा उनले सांसदहरूले “मलाई यस्तो लाग्यो” भन्दै व्यक्तिगत अभिव्यक्ति दिन नहुने स्पष्ट पारे। उनका अनुसार संसद् पार्टीका नीतिहरू कार्यान्वयन गर्ने मञ्च भएकाले सबै सदस्य अनुशासित र एकरूप भएर प्रस्तुत हुनुपर्छ।

ओलीले पार्टीले देशको हितमा अघि सारेका विचारहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। साथै उनले संसदीय भूमिकालाई प्रभावकारी बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।

उनले प्रतिकूल अवस्थामा पार्टीभित्र अनावश्यक विवाद उठाउनु उपयुक्त नहुने उल्लेख गर्दै अहिलेको मुख्य आवश्यकता एकता र अनुशासन रहेको बताए। संसद्मा आफूखुसी अभिव्यक्ति दिने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्दै उनले पार्टी नीति अनुसार नै अघि बढ्न निर्देशन दिए।