१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा लिनुअघि राष्ट्रको नाममा सम्बोधन गर्दै आफू धेरै आशा बोकेर बिदा हुँदैछिन् भनेकी छन्। उनले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले यो भूमिका स्वीकार गरेको स्मरण गरिन्।
कार्कीले भदौ २३ र २४ को जेनजी आन्दोलनको सम्झना गर्दै त्यस समयमा डर र अनिश्चितताबीच नेतृत्व सम्हालेको बताइन्। आन्दोलनमा ज्यान गुमाएका, घाइते र परिवारले साहरा गुमाएका सबैलाई ढाडस दिँदै उनले भनेकी छन्, “तपाईंहरू एक्लो हुनुहुन्न। हामी फेरि उठ्नेछौं।”
प्रधानमन्त्री कार्कीले तोडफोड, आगजनी र ऐतिहासिक धरोहरमा क्षति पुगेकोमा दुःख व्यक्त गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरिन्। उनले बिदा हुँदै केही सन्तुष्टि र धेरै आशा बोकेर राष्ट्रको सेवा गरेको महसुस व्यक्त गरिन्।




