१३ चैत, काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको पुष्टि भएको छ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेका अनुसार हेलिकप्टरमा रहेका सबै यात्रु र चालकदलको अवस्थाबारे हालसम्म थप विवरण प्राप्त हुन सकेको छैन। “हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो, तर टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अन्य जानकारी आउन सकेको छैन,” उनले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो।
यसैबीच, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले घटनाबारे थप जानकारी संकलन भइरहेको बताएका छन्। उनले माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग समन्वय गरी अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिए।
घटनापछि खोजी तथा उद्धार प्रयास जारी रहेको छ भने थप विवरण आउने क्रम जारी रहेको सम्बन्धित निकायले जनाएको छ।




