समाचार

गृहमन्त्री सुधन गुरुङ को उच्चस्तरीय सुरक्षा छलफल सम्पन्न, देशभरको तनावपूर्ण अवस्थाबारे समीक्षा

१४ चैत, काठमाडौं । पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाबारे समीक्षा गर्न गृहमन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल सहितका सुरक्षा अधिकारीहरूसँग बैठक गरेका हुन्।

स्रोतका अनुसार दिनभर देशभर विकसित सुरक्षा अवस्था र त्यसको प्रभावबारे जानकारी लिन गृहमन्त्रीले छलफल आह्वान गरेका थिए। विशेषगरी पछिल्ला घटनाक्रमपछि राजधानीसहित विभिन्न स्थानमा देखिएको प्रदर्शन र तनावपूर्ण अवस्थालाई केन्द्रमा राखेर बैठकमा समीक्षा गरिएको बताइएको छ।

सरकारले एक दिनअघि मात्रै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज बिहानै प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको हो।

उक्त पक्राउपछि काठमाडौं लगायत देशभर प्रदर्शन चर्किएको छ। राजधानीका केही स्थानमा स्थिति तनावग्रस्त बनेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

छलफलमा यिनै घटनाक्रमको समग्र समीक्षा गर्दै आगामी रणनीति र सुरक्षा व्यवस्थाबारे समेत कुराकानी भएको स्रोतले जनाएको छ।