अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १.३ अर्ब डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश

१७ चैत, काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी लगानीको कम्पनी एसआरसी इन्टरनेसनलसँग सम्बन्धित ठूलो वित्तीय अनियमिततामा दोषी ठहर गर्दै करिब १ अर्ब ३० करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

न्यायाधीश अहमद फिरुज जैनोल अबिदिनले दिएको फैसलाअनुसार रजाकले आफ्नो पदको दुरुपयोग गर्दै कम्पनीलाई करिब १ अर्ब १८ करोड डलर बराबरको नोक्सानी पुर्‍याएका थिए। साथै, कम्पनीको करिब १२ करोड डलर रकम हिनामिना गरी आफ्नै व्यक्तिगत खातामा सारेको पनि प्रमाणित भएको अदालतले जनाएको छ।

अदालतका अनुसार रजाकले सरकारी निवृत्तिभरण कोषबाट एसआरसी इन्टरनेसनललाई ४ अर्ब मलेसियाली रिंगिट ऋण उपलब्ध गराउन दबाब दिएका थिए, जसमा सरकारी ग्यारेन्टीसमेत समावेश थियो। उक्त ऋणमध्ये ठूलो हिस्सा उचित निगरानीबिना विदेशी ‘अफसोर’ खाताहरूमा पठाइएको र पछि दुरुपयोग भएको निष्कर्ष निकालिएको छ।

यो प्रकरण चर्चित वानएमडीबी घोटालासँग जोडिएको मानिन्छ, जुन विश्वकै ठूला आर्थिक घोटालामध्ये एक हो। एसआरसी इन्टरनेसनल सुरुमा उक्त परियोजनाकै सहायक कम्पनीका रूपमा स्थापना गरिएको थियो।

फैसलामा रजाकले संस्थागत नियन्त्रण प्रणालीलाई कमजोर बनाउँदै ‘एडभाइजर इमिरिटस’ पद सिर्जना गरेर कम्पनीमाथि पूर्ण नियन्त्रण कायम राखेको उल्लेख गरिएको छ।

रजाक पक्षले भने निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ, जसका लागि अदालतले १४ दिनको समय दिएको छ।

यो फैसला मलेसियामा भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।