अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धको असर नेपालमा- हवाई इन्धनमा भारी वृद्धि, पेट्रोल र डिजेलको मूल्य कति?

चैत १७, काठमाडौं । नेपाल आयल निगम लिमिटेड ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेको भन्दै नयाँ मूल्य समायोजन सार्वजनिक गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य बढ्दै जाँदा निगम ठूलो घाटामा गएको जनाएको छ।

निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पछिल्लो एक महिनामा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ। इण्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ४१.६०, डिजेलमा रु. ९४.९३, हवाई इन्धनमा रु. १२३.८ र एलपी ग्यासमा प्रति सिलिण्डर रु. १९०.३६ वृद्धि भएको उल्लेख छ।

तर, उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोल, डिजेल तथा एलपी ग्यासको खुद्रा मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ। यसअघि मार्च २५ मा पेट्रोल र डिजेलमा प्रतिलिटर रु. १५ वृद्धि गरिएको थियो। मूल्य समायोजन पूर्ण रूपमा गर्न नसक्दा निगमले १५ दिनमै करिब रु. ५ अर्ब घाटा व्यहोरेको जनाएको छ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर रु. ४७.१२, डिजेलमा रु. १३३.४५ र एलपी ग्यासमा प्रति सिलिण्डर रु. ४१६.३७ घाटा भइरहेको छ। यसैगरी, पाक्षिक रूपमा करिब रु. १३ अर्ब २१ करोड घाटा हुने प्रक्षेपण गरिएको छ।

यसबीच, निगम सञ्चालक समितिको निर्णयअनुसार चैत १८ गते बिहान ००:०१ बजेदेखि हवाई इन्धनको मूल्य उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। आन्तरिक उडानतर्फ हवाई इन्धन प्रतिलिटर रु. १२४ ले बढाएर रु. २५१ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले वृद्धि गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभन बिन्दुमा मूल्य निर्धारण गरिएको छ।

निगमले इन्धन आपूर्तिमा हालसम्म समस्या नरहेको जनाउँदै भुक्तानीमा ढिलाइ भए आपूर्ति व्यवस्थापन प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

अन्त्यमा, निगमले वर्तमान विषम परिस्थितिमा सबै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गर्दै सहयोगको अपिल गरेको छ।