समाचार

बादल विवादमा एमालेको यू–टर्न, भनाइलाई ‘गल्ती’ भन्दै सच्यायो

१९ चैत, काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्ति पार्टीको मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकाल्दै औपचारिक रूपमा सच्याएको छ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले करिब ६ घण्टा लामो छलफलपछि उक्त निष्कर्ष निकालेको हो। बैठकपछि महासचिव शंकर पोखरेल ले विज्ञप्ति जारी गर्दै बादलको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारे।

बैठकले नेपाली सेना, प्रहरी, निजामती कर्मचारी तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको पुनः दोहोर्‍याउँदै बादलले उठाएका शंका र आरोपहरू एमालेको नीति विपरीत रहेको ठहर गरेको छ। प्रतिनिधिसभामा सम्बोधनका क्रममा बादलले निर्वाचन परिणाम र राजनीतिक घटनाक्रमलाई लिएर शंका व्यक्त गरेका थिए, जसले पार्टीभित्रै आलोचना निम्त्याएको थियो।

सचिवालयका अधिकांश नेताहरूले उनको अभिव्यक्ति अनुपयुक्त भएको भन्दै स्पष्टिकरण आवश्यक रहेको बताएका थिए। बैठकमा स्वयं बादलले पनि आफू केही भावुक भएको स्वीकार्दै आफ्ना भनाइको बचाउ गरेका थिए।

एमालेले यससँगै संसदीय दलको नेता चयन प्रक्रियामा कुनै हस्तक्षेप नभएको पनि दोहोर्‍याएको छ। पार्टीले उक्त निर्वाचन लोकतान्त्रिक विधिबाट सम्पन्न भएको दाबी गर्दै यसबारे सार्वजनिक टिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ।

त्यस्तै, बैठकले सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति पनि आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ। एमालेको यो निर्णयले पार्टीभित्र देखिएको विवादलाई व्यवस्थापन गर्दै आधिकारिक धारणा स्पष्ट पार्ने प्रयास गरेको देखिन्छ।